५ असार,काठमाडौं । भारतमा आज (बिहीबार) बिहान दुई फरक विमानहरूमा प्राविधिक समस्या देखिएपछि आपत्कालीन अवतरण गराइएको छ। यसअघि बुधबार पनि एयर इन्डियाका तीन अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार, बिहीबार बिहान दिल्लीबाट लेहका लागि उडेको इन्डिगोको उडान ६ई २००६ मा प्राविधिक गडबडी देखिएपछि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर आपत्कालीन अवतरण गराइएको हो। यो विमानमा चालक दलका सदस्यसहित १८० जना सवार थिए।
यस्तै, स्पाइसजेटको विमान एसजी २६९६ पनि हैदराबादबाट तिरुपतिका लागि उडेको १० मिनेटमै फर्काइएको छ। पाइलटले विमानको पछाडिको ढोकामा केही समस्या भएको संकेत पाएपछि उक्त विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गराइएको थियो। यो विमानमा जम्मा ८० जना यात्रु थिए।
यसअघि बुधबार, एयर इन्डियाका दिल्ली–बाली, टोरन्टो–दिल्ली र दुबई–दिल्ली गरी तीनवटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका थिए। पछिल्ला दिनहरूमा भारतमा हवाई उडानहरूमा देखिएका यी लगातारका समस्याले हवाई सुरक्षा र मर्मतसम्भारको विषयमा चिन्ता बढाएको छ।
















