५ असार, काठमाडौं । लामो समयदेखि प्रतीक्षा गरिएको प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको बैठक फेरि स्थगित भएको छ। आज दिउँसो २ बजेका लागि तय भएको यो उच्चस्तरीय बैठक अन्ततः बस्न सकेन।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य र प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवाल दुवैले बैठक स्थगित भएको जानकारी दिएका छन्।
यो बैठक लगातार दोस्रो पटक स्थगित भएको हो। यसअघि प्रधानमन्त्री ओलीले बुधबारका लागि बैठक बोलाएका थिए, तर प्रचण्ड काठमाडौँबाहिर रहेकाले उक्त बैठक स्थगित भएको थियो। आज प्रचण्ड काठमाडौँ फर्किसकेपछि पनि निर्धारित समय घर्किसकेपछि बैठक स्थगित गरिएको हो।















