Logo

५ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले जेठ १ गते सूचना प्रविधि, सुशासन, सम्पदा तथा पर्यटन समितिबाट हटाएका सदस्यहरूलाई पुनः आफ्नो पुरानै जिम्मेवारीमा फर्काएका छन्।

यसअघि मेयर साहले सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई जिम्मेवारी दिएका थिए। त्यस्तै, सुशासन समितिको संयोजकबाट वडा नं. २६ का ख्यामराज तिवारीलाई हटाएर वडा नं.३० का दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको संयोजकबाट वडा नं.८ का आशामान संगतलाई हटाएर वडा नं.२४ का विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी दिएका थिए।

तर, उक्त निर्णयविरुद्ध चारै जना वडा अध्यक्षहरूले विरोध जनाए। उनीहरूले कार्यपालिकाको निर्णय बिना आफूहरूलाई हटाउनु गलत भएको भन्दै मेयर साहलाई चेतावनीसमेत दिएका थिए। उनीहरूद्वारा संयुक्त पत्र पठाएर नयाँ जिम्मेवारी अस्वीकार गरिएपछि मेयर साहले आफूले लिएको निर्णय फिर्ता लिनु परेको हो।

एक वडा अध्यक्षका अनुसार, वडा अध्यक्षहरूले नयाँ जिम्मेवारी नलिने आग्रह गरेपछि मेयर साहले पुरानै जिम्मेवारीमा फर्काउने निर्णय गरेका हुन्। यसअघि वडाध्यक्षहरूले मेयरको मनोमानी निर्णयको विरोध गर्दै, कार्यपालिकाको स्वीकृति बिना निर्णय लिन नहुने अडान लिएका थिए।

यता, कार्यपालिका र नगर सभाका सदस्यहरूले निरन्तर दबाब दिँदै आएका छन्। उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा बसेको अनौपचारिक बैठकले पनि मेयर साहलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताइएको छ।

यो घटनाले काठमाडौँ महानगरपालिकामा प्रशासनिक विवाद र अनिश्चितता देखाएको छ। यसबीच विधायन समितिको जिम्मेवारी भने वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको छ।


सम्बन्धित समाचार