Logo

५ असार,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा आज एक विशेष समारोहका बीच महिला उद्यमशीलता सहायता कक्षको उद्घाटन गरिएको छ। महिला उद्यमीहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले यो कक्ष स्थापना गरिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले रिबन काटेर कक्षको उद्घाटन गर्दै महिला सशक्तीकरण र आत्मनिर्भरताका लागि यस्तो पहल आवश्यक र सराहनीय भएको बताए। उनले महिलाहरूले उद्यमशीलतामा देखाएको रुचि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संघको यो पहलले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले संघले आगामी दिनमा महिला उद्यमीहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले महिला उद्यमीहरूको सशक्तीकरण, व्यावसायिक क्षमता अभिवृद्धि, बजार पहुँच, तालिम तथा आवश्यक परामर्श प्रदान गर्नका लागि सहायता कक्ष सञ्चालन गरिएको बताउँदै महिलाहरूको योगदानबिना कुनै पनि आर्थिक विकास सम्भव नरहेको धारणा राखे।

वीरगञ्ज महानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले सहायता कक्ष सञ्चालनका लागि महानगरले आवश्यक स्थान उपलब्ध गराउने र यस्ता कार्यक्रमप्रति सधैँ सकारात्मक सहयोग रहने विश्वास दिलाए।

नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक हरि पौडेलले महिलाहरूमा उद्यमशीलताको भावना जागृत गराउन र उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउन सहायता कक्षले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

संघले स्थापना गरेको यो सहायता कक्षमार्फत महिलाहरूलाई व्यावसायिक सल्लाह, तालिम, जानकारी तथा प्रोत्साहन प्रदान गरिने महिला उद्यमशीलता सहायता कक्षका सहजकर्ता सञ्जु कलवारले जानकारी दिइन्।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पञ्जियार, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिष लाठ, कोषाध्यक्ष अनोज रुंगटा, सहसचिव अनुप अग्रवाल, महिला समृद्धि नेपाल कार्यक्रम मधेश प्रदेशका सदस्य डा. बासुलाल कर्ण लगायत संघका पदाधिकारी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार