Logo

५ असार,धनुषा । धनुषाको मिथिला नगरपालिका–१ ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीया मङ्गलीदेवी महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, मङ्गलीदेवी तरकारीबारीमा काम गर्ने क्रममा खेतमा जडान गरिएको तारमा छोएपछि घटनास्थलमै ज्यान गएको हो। “केही किसानले जङ्गली जनावरबाट तरकारी तथा अन्य बाली बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गरी बाली सुरक्षा गर्दै आएका छन्। मङ्गलीदेवीले पनि सोही तार छोएपछि करेन्ट लागेको हो,“ प्रहरी निरीक्षक यादवले बताए।

महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता वरुण सिंहले जानकारी दिएका छन्। यस घटनाले बाली जोगाउन प्रयोग गरिने यस्ता जोखिमपूर्ण तरिकाहरूको सुरक्षामाथि प्रश्न उठाएको छ।


सम्बन्धित समाचार
भर्खरै