६ असार, वीरगञ्ज । छिमेकी मुलुक भारत विहारको मुजफ्फरपुर जिल्लाको दरभंगा हाईवे अन्तर्गत गयघाट क्षेत्रमा एक ई–रिक्शामा अचानक आगलागी हुँदा एक महिलाको ज्यान गएको छ भने सोही परिवारका पाँच जना गम्भीर घाइते भएका छन् ।
बिहीबार बिहान उनीहरु एक विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटनामा परेका हुन् । मृतकको पहिचान कमरून खातुनका रूपमा गरिएको छ । उनी उक्त ई–रिक्शा चलाइरहेका मोहम्मद साजिद हुसैनकी आमा हुन् ।
दुर्घटनामा साजिद हुसैन, उनकी श्रीमती यास्मीन, आमा जैनब, ९ वर्षीय छोरा सरफराज र ७ वर्षीया छोरी सबीना गम्भीर रूपमा घाइते भएका छन् । साजिदको अवस्था गम्भीर रहेको स्थानिय प्रहरीले जनाएको छ ।
ई–रिक्शाको ब्याट्रीमा आएको प्राविधिक खराबीका कारण अचानक विस्फोट भयो र केही मिनेटमै सम्पूर्ण रिक्शा जलेर नष्ट भएको प्रत्यक्षदर्शीहरुको भनाईलाई उदृत गर्दै एएसपी शाहरिया अख्तरले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । यस विषयमा थप अनुसन्धान भईरहेको अख्तरले जानकारी दिए ।
















