६ असार, काठमाडौं । काठमाडौँलगायत ५६ जिल्ला बाढीको जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज ५६ जिल्लाले सतर्कता अपनाउनुपर्ने जनाएको हो । महाशाखाले आजसहित आगामी तीन दिनका लागि विभिन्न नदी र जिल्लाहरूमा बाढीको सम्भावनाबारे जानकारी गराएको छ । जसनुसार, मुख्य नदीहरूमा कर्णाली, महाकाली र यिनका प्रमुख सहायक नदीहरूः जलसतह सतर्कता तहभन्दा तलै रहनेछ, तर बढ्ने क्रममा छ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीः जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि बढ्नेछ । कोशी र नारायणी नदी तथा यिनका प्रमुख सहायक नदीहरूः जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ । यी सबै नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।
उच्च जोखिममा २२ जिल्ला (‘एल्लो अलर्ट’)
बाढी महाशाखाले निम्न २२ जिल्लाका लागि ‘एल्लो अलर्ट’ (पहेँलो रङ) जारी गरेको छ, जहाँ स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको छ । संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, बाँके, बर्दिया, दाङ, सल्यान, रोल्पा, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्लाहरू उच्च जोखिममा रहेको महाशाखाले जारी गरेको सुचनामा उल्लेख छ । यी क्षेत्रका नदी तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
सामान्य जोखिममा अन्य ३४ जिल्ला
आज ससाना नदीहरूमा बहाव सामान्य बढ्ने अनुमान गरिएको छ, जहाँ सामान्य सतर्कता अपनाउन बाढी महाशाखाले आग्रह गरेको छ । इलाम, झापा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, धनुषा, महोत्तरी, तनहुँ, पर्वत, म्याग्दी, पर्सा, चितवन, नवलपुरपूर्व, नवलपुरपश्चिम, गुल्मी, प्युठान, सुर्खेत, अछाम, दैलेख, दार्चुला र आसपासका जिल्लाहरू आज सामान्य जोखिममा छन् ।
फाइल तस्बिरः















