६ असार, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन्।
सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गर्दा पनि नमानेपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्। यसअघि, सभामुख देवराज घिमिरेले रास्वपाको विरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदनमा अवरोध गर्दै आएको छ।
सभामुख घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफललाई भने जारी राखेका छन्। संसदमा विपक्षी दलहरूको विरोधका कारण संसदीय प्रक्रियामा पटक–पटक अवरोध आउने गरेको छ।















