Logo

६ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले संसदलाई हेपेको आरोप लगाएको छ। आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो टिप्पणी गरेका हुन्।

पाण्डेले सरकारले सदनलाई अत्यन्तै हेपेकोु भन्दै यसको बयान गर्न नसकिने बताए। उनले संसदको कार्यसूची बारम्बार आउने र आएको विषय हट्ने क्रममा प्रश्न उठाउँदै कार्यसूचीमा विषय हटाइनुको कारण माग गरेका छन्।

बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीहरूको अनुपस्थितिलाई लिएर पनि पाण्डेले प्रश्न उठाएका छन्। मन्त्रीको अनुपस्थितिमा छलफल चलाउनु प्रतिनिधि सभा नियमावलीविपरीत हुने उनको भनाइ छ। उनले सोधे, नियमावलीलाई हामीले पालना गर्नुपर्ने अनि सरकारले चाहिँ पालना गर्न नपर्ने यो कहाँसम्मको अन्याय हो ।

समयमै मन्त्रालयगत बजेटको किताब नपाएका कारण सांसदहरूले खर्च कटौतीको प्रस्तावसमेत राख्न नपाएको उनको गुनासो छ।

पाण्डेले संसदमा जारी अवरोध हटाउन पनि सरकारले अग्रसरता नलिएको आरोप लगाएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसद्को बैठक बहिष्कार गरेका छन्। विगतमा रास्वपाका सांसदहरू वेल घेरेर बसेका थिए भने शुक्रबारबाट उनीहरूले पनि सदनको कामकारबाही बहिष्कार गरेका छन्। राप्रपाका सांसदहरूले भने यसअघिदेखि नै सदनको कामकारबाही बहिष्कार गर्दै आएका छन्। यी दुवै दलले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै आएका छन्।

 


सम्बन्धित समाचार