Logo

६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन देशभर फैलिएको जनाएको छ।

महाशाखाले मनसुन आगमन बुलेटिन–३ जारी गर्दै मनसुन प्रणाली मुलुकभरि नै विस्तार भएको जानकारी दिएको हो। बुलेटिनअनुसार यस वर्षको मनसुन प्रणाली २०८२ असार ६ गते अर्थात २० जुन २०२५ का दिन देशभर फैलिएको छ। यस वर्ष मनसुन जेठ १५ गते अर्थात मे २९ तारिख पूर्वी क्षेत्र कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो। त्यसको १४ दिनपछि जेठ २९ गते यो प्रणाली मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै स्थानसम्म विस्तार भएको थियो।

मौसमविद्का अनुसार नेपालमा मनसुन सामान्यतया जुन १३ तारिखमा प्रवेश गरी एक हप्ताभित्र देशभर विस्तार हुन्छ। तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुनलाई देशभर फैलिन भने २३ दिन लागेको छ।


सम्बन्धित समाचार