६ असार, काठमाडौं । बाढीपहिरोको बढ्दो जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा आगामी १५ दिनसम्म रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
आज सिन्धुलीको खुर्कोटमा बसेको काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले यो निर्णय गरेको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, भोलि असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा कुनै पनि यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन चलाउन पाइने छैन।
विशेष गरी, काभ्रेपलाञ्चोकको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको सडकखण्ड बाढीपहिरोको उच्च जोखिममा रहेकाले यो निर्णय लिइएको हो। यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको यो व्यवस्थाबारे आजै तीनवटै जिल्लाका अधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी गरेका छन्।















