Logo

६ असार,धनगढी । डोटीको आदर्श गाउँपालिका–१ मौवामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। दुर्घटनामा परी घाइते भएका पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी विनोद शर्माका अनुसार, दुर्घटनास्थलमै सायल गाउँपालिका–४ सुण्डकी ४१ वर्षीया हरुदेवी विक र आदर्श गाउँपालिका–७ दडिमानाका २७ वर्षीय सुरेश कार्कीको मृत्यु भएको हो। कार्की जीपका चालक हुन्।

दुर्घटनामा गम्भीर घाइते भएकी ३५ वर्षीया काली कटुवालको उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको एसपी शर्माले जानकारी दिए। सायल गाउँपालिका–६ कटुवालकी गर्भवती कटुवालको मृत्युले मृतकको संख्या तीन पुगेको हो।

दुर्घटनामा घाइते हुनेहरूमा आदर्श गाउँपालिका–३ नुवाकोटका १४ वर्षीया अनिता विक, १६ वर्षीया स्यानु विक, आदर्श गाउँपालिका–७ दडिबानाका २२ वर्षीय कैलाश बिष्ट, १४ वर्षीय दीपक बिष्ट र सायल गाउँपालिका–६ की ९ वर्षीया सविता कटुवाल रहेका छन्।

घाइतेमध्ये कैलाश बिष्टबाहेक अन्य चार जनाको अवस्था गम्भीर रहेको एसपी शर्माले बताए। उनीहरूको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार