७ असार,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँ को बजेट नगर सभामा प्रस्तुत गरेको छ। शुक्रबार नगर प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा सम्पन्न १३औँ नगरसभामा नगर उपप्रमुख पूजा चौधरीले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
आम्दानीका स्रोतहरू
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न स्रोतबाट आम्दानी हुने अनुमान गरेको छ। यसमा संघीय सरकारबाट ११ करोड ७६ लाख रुपैयाँ वित्तीय समानिकरण अनुदान र २६ करोड ९० लाख रुपैयाँ सशर्त अनुदान प्राप्त हुनेछ। संघबाट राजस्व बाँडफाँटबापत १० करोड ६१ लाख १ हजार ८ सय ९९ रुपैयाँ आम्दानी हुने अनुमान छ।
यसैगरी, प्रदेश सरकारबाट ८२ लाख ६ हजार रुपैयाँ वित्तीय समानीकरण अनुदान, ९५ लाख रुपैयाँ सशर्त अनुदान, र ८० लाख ८४ हजार ५ सय ८० रुपैयाँ राजस्व बाँडफाँट बाट प्राप्त हुनेछ। नगरपालिकाले विशेष अनुदानबाट ३० लाख रुपैयाँ, समपूरक अनुदानबाट २० लाख रुपैयाँ, र आन्तरिक आयबाट २ करोड ७१ लाख १० हजार रुपैयाँ आम्दानीको लक्ष्य राखेको छ। साथै, १ करोड रुपैयाँ अनुमानित मौज्दात रहने अपेक्षा गरिएको छ।
खर्चका प्राथमिकताहरू
कुल बजेटमध्ये कार्य सञ्चालन तथा प्रशासनिक खर्चका लागि ३० करोड ६४ लाख ८६ हजार ४ सय ७९ रुपैयाँ विनियोजन गरिएको छ। यसबाहेक, अन्य प्रमुख खर्चका क्षेत्रहरू निम्नानुसार छन्ः
- वडास्तरीय योजना: ६ करोड ६० लाख रुपैयाँ
- नगरस्तरीय योजना (समपूरक कोष): ३ करोड ५० लाख रुपैयाँ
- सशर्त अनुदान संघ (नगरस्तरीय): ४ करोड ६४ लाख रुपैयाँ
- समपूरक अनुदान संघ: ३ करोड ३ लाख रुपैयाँ
- प्रदेश सशर्त अनुदान: ९५ लाख रुपैयाँ
- प्रदेश समपूरक अनुदान: २० लाख रुपैयाँ
- प्रदेश विशेष अनुदान: ३० लाख रुपैयाँ
- आर्थिक विकास, सामाजिक विकास, वन तथा वातावरण, संस्थागत विकास तथा सुशासन, पूर्वाधार लगायतका अन्य नगरस्तरीय योजना र गत वर्षको भुक्तानी: ६ करोड १९ लाख १६ हजार रुपैयाँ
आर्थिक विकास, सामाजिक विकास, वन तथा वातावरण, संस्थागत विकास तथा सुशासन, पूर्वाधार लगायतका अन्य नगरस्तरीय योजना र गत वर्षको भुक्तानीः ६ करोड १९ लाख १६ हजार रुपैयाँ
बजेटको विस्तृत आयव्यय विवरण र राजस्वका दरहरू अनुसूचीमा संलग्न गरिएको प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए।
नगरसभामा नगरसभा सदस्यहरू, कार्यपालिका सदस्यहरू, वडा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संघ संस्थाका प्रतिनिधिहरू लगायत स्थानीय र सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।















