७ असार,चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड आज शनिबारदेखि राति १० घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ। विशेषगरी दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेको भन्दै साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो।
सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का निर्देशक इन्जिनियर चुडाराज ढकालका अनुसार, शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।
निर्देशक ढकालले भने, “निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ।” यसैगरी, दाउन्ने खण्डका केही स्थानमा ग्राभेल राखेर सडक मर्मत गर्ने काम भइरहेकाले दाउन्नेमा सहज रूपमा यातायात सञ्चालन नहुने बेलासम्मका लागि पनि रातिमा सडक बन्द गरिएको उनले बताए।
थप रूपमा, उक्त सडक खण्डमा ठूला र मालवाहक सवारीसाधनलाई आजदेखि चौबीसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालले जानकारी दिए। उनले ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट–बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै साना सवारीसाधनलाई समेत सडकको अवस्था हेरेर मात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिएका छन्।
चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा पनि हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ। त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ।















