Logo

८ असार, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा गत शुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीया सुत्केरी तुलसी नाथको हत्या उनकै सहोदर देवर नवीन नाथले गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रारम्भिक अनुसन्धान र पक्राउ परेका नवीनको बयानका आधारमा प्रहरीले यो निष्कर्ष निकालेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दका अनुसार, नवीनले प्रहरीलाई दिएको बयानमा विगतको सामान्य विवाद र सुनका गहनाको लोभका कारण भाउजूको हत्या गरेको स्वीकार गरेका छन् । उनले भाउजू सुतिरहेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको, कानमा लगाएका गहना निकालेर शव नालीमा फालेको बयान दिएका छन् ।

डीएसपी चन्दले शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी भए पनि घटनाको प्रकृति र नवीनको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर रहेको बताए । नवीनले हत्यापछि भाउजूको कानमा लगाएका सुनका रिङहरू हँसियाले निकालेर घर नजिकैको ढुङ्गामुनि लुकाएको र पछि बुवालाई दिएको सूचनाका आधारमा प्रहरीले उनको संलग्नता पुष्टि गरेको थियो ।

कसरी खुल्यो हत्याको रहस्य ?
शुक्रबार बिहान १६ दिने सुत्केरीको मृत्यु भएको र शिशु सकुशल रहेको खबर फैलिएपछि इलाका प्रहरी कार्यालय मसुरियामार्फत मालाखेतीलाई जानकारी गराइएको थियो। घटनास्थल पुगेका डीएसपी चन्दलाई सुरुदेखि नै घटना शंकास्पद लागेको थियो, किनभने शवमा कुनै घाउचोट थिएन, जसले विष सेवन वा सर्पको टोकाइबाट मृत्यु भएको अनुमान गर्न सकिन्थ्यो ।

मृतकको घरमा उनका देवर, देउरानी र ९ कक्षामा पढ्ने नन्द थिए। नवीनले प्रहरीलाई घटना भएको रात आफूले सुत्केरी भाउजूलाई खाना पकाएर खुवाएको बताएका थिए । तर, मृतकले केही दिनअघिसम्म कानमा लगाइरहेका आठ वटा सुनका रिङहरू शवमा नदेखिएको तथ्यले प्रहरीलाई थप शंका उत्पन्न गरायो ।

डीएसपी चन्दका अनुसार, नवीनले सुरुमा दिएको बयान र अनुसन्धान अघि बढ्दै जाँदा फरक कुरा बताउन थालेपछि उनी शंकाको घेरामा परेका थिए । शनिबार मृतकका सासू ससुरा र नवीनका बुवाआमा आएपछि प्रहरीले उनीहरूको सहयोग मागेको थियो । नवीनले आफ्ना बुवाआमालाई सुनका रिङ लुकाएको ठाउँ भनेपछि उनको संलग्नता पूर्णरूपमा पुष्टि भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

नवीनले अन्तिममा शनिबार प्रहरीलाई आफूलाई भाउजूले ‘सुरुबाटै हेप्ने गरेको हुँदा रिस उठेको’ र ‘त्यही रिसमा सिरानीले मुख थुनेर मारेको’ बताएका थिए। करिब २ वर्षअघि नवीनका दाजुसँग विवाह भएपछि तुलसी उनकी भाउजू बनेकी थिइन् । विवाहअघि अभिभावकजस्तै रहेकी भाउजूले आफूलाई पटकपटक ‘काम नगर्ने’, ‘काम नभएको’ जस्ता कुराले हेप्ने गरेको नवीनले प्रहरीसमक्ष बताए ।

हत्यापछि नवीनले सुनका रिङ निकालेर शवलाई केहीबेरपछि घर नजिकैको नालामा फालेका थिए। सुनका रिङ पानीमा बगेको देखाउन उनले भाउजूले गलामा लगाएको माला पनि आफै फुकालेर पानीमा फालेको प्रहरी बयानमा उल्लेख छ ।

१६ दिने सुत्केरी भाउजूको बीभत्स हत्या गर्ने नवीनलाई कानुन अनुसार कडा कारबाही हुने प्रहरीले जनाएको छ। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह रानाले जटिल अवस्थामा पुगेको यस घटनालाई सूक्ष्म अनुसन्धानमार्फत सफलता प्राप्त भएको बताए। उनले जिल्ला र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको विशेष टोलीले घटनाको सत्य तथ्य उजागर गरेकोमा खुसी व्यक्त गरे।


सम्बन्धित समाचार