Logo

८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकका ६ बुँदे निर्णयहरू आइतबार सार्वजनिक गरेको छ। पार्टीले सुसंस्कृत राजनीतिको संवर्द्धन, विभाग प्रमुखहरूको नियुक्ति र सभापतिविरुद्धको हस्ताक्षर अभियानलाई तीव्रता दिनेलगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकका मुख्य निर्णयहरू:

१. सुसंस्कृत राजनीतिमा अडिग रहने: पार्टीले देशको वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै ‘भिजिट भिसा’ प्रकरणमा पार्टीले लिएको अडानप्रति संसदीय दललाई आभार व्यक्त गरेको छ। साथै, संसदमा लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनका पक्षमा सशक्त रूपमा अडिग रहन संसदीय दललाई निर्देशन दिइएको छ।

२. सचिवालयका निर्णयहरू अनुमोदन: कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जेठ १९ र असार ५ गते बसेका पार्टी सचिवालयका सम्पूर्ण निर्णयहरूलाई केन्द्रीय समितिले पूर्णतः अनुमोदन गरेको छ।

३. विभाग प्रमुखमा नयाँ नियुक्ति: पार्टीका रिक्त रहेका तथा पुनः संयोजन आवश्यक पदहरूमा निम्नअनुसार मनोनयन गरिएको छ:

* प्रशिक्षण विभाग प्रमुख: सह-महामन्त्री विपिनकुमार आचार्य

* अभियान तथा प्रचारप्रसार विभाग प्रमुख: कार्यवाहक प्रवक्ता मनिष झा *

अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुख: उप-प्रमुख रवि किरण अधिकारी

४. महामन्त्री र प्रवक्ताको नियुक्ति: पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरिएको छ।

५. स्थापना दिवसको शुभकामना र आभार: तेस्रो स्थापना दिवसको अवसरमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेको तर्फबाट केन्द्रीय समिति, तहगत समिति, संयन्त्रहरू, सम्पूर्ण पार्टी सदस्य, शुभचिन्तक र आम नागरिकहरूलाई ऐक्यबद्धतापूर्वक साथ र समर्थन प्रदान गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले चुनौतीपूर्ण परिस्थितिमा साथ दिने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा देश निर्माणको महान् उद्देश्यमा निरन्तर साथ र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। साथै, पार्टी निर्माणको यात्रामा देखिएका आपसी गुनासाहरूलाई बिर्सेर एक ढिक्का भई अगाडि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध पनि गर्नुभयो।

६. हस्ताक्षर अभियानलाई निरन्तरता: पार्टी सभापति रवि लामिछानेविरुद्ध गरिएको राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानलाई जनतामाझ पुर्‍याउन देशैभर सशक्त रूपमा लैजाने निर्णय गरिएको छ। यस अभियानलाई आजकै दिनबाट देशैभर वार्षिकोत्सवका विभिन्न कार्यक्रमहरूसँगै लैजाने योजना छ।


सम्बन्धित समाचार