८ असार, काठमाडौं । सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उपस्थित नभएकोमा आपत्ति जनाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला प्रधानमन्त्री ओली अनुपस्थित भएकोमा साहले संसदको अपमान भएको टिप्पणी गरे। आजपाका अध्यक्ष समेत रहेका सांसद प्रभु साहले संसदमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सरकारमाथि तीव्र आलोचना गर्दै सरकार र भ्रष्टाचार एकअर्काका पर्यायवाचीजस्तो बनेको आरोप लगाएका छन्। उनले राज्यका हरेक निकायमा बेथिति बढेको र ूजहाँ सरकार छ, त्यहाँ भ्रष्टाचार छू भन्ने टिप्पणी गरे। साहले सरकार अहिले असुलीमा लागेको र मुख्यसचिव तथा सचिवहरूको स्वार्थअनुसार कानुन बन्ने गरेको दाबी पनि गरे।
यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा खोजेका छन्। नेमकिपाका सांसद सुवालले विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्रीको उपस्थिति माग गरेका हुन्। सांसद सुवालले भिजिट भिसा प्रकरणका कारण संसद् अवरोध भइरहेको उल्लेख गर्दै सांसदहरूको माग सम्बोधन गर्न आग्रह गरे। उनले प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा संसदमा छलफल हुन लागेकाले प्रधानमन्त्रीलाई बैठकमा उपस्थित हुने वातावरण बनाउन सभामुखसँग आग्रह गरे।
सुवालले भने, प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा आज छलफल हुने भएकाले प्रधानमन्त्रीजी बैठकमै बस्ने वातावरण तयार गर्न पनि सभामुखसँग आग्रह गर्दछु। उनले सरकारसँग भिजिट भिसा प्रकरणको छानबिनमा ढिलाइ नगर्न पनि माग गरेका छन्।
आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयलगायत अन्य मन्त्रालयका लागि विनियोजित विधेयकमाथि छलफल हुँदैछ।















