Logo

८ असार, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान संशोधन गरेको छ।

दुई दिनसम्म चलेको जसपाको सङ्घीय परिषद् बैठकले पार्टीको केन्द्रीय समिति र सङ्घीय परिषद् सदस्यको सङ्ख्यामा वृद्धि गरेको हो। पार्टीका महासचिव इस्तियाक राईका अनुसार, संशोधित विधानले केन्द्रीय समितिको सङ्ख्या १५१ बाट बढाएर २५१ पुर्‍याएको छ। यसैगरी, सङ्घीय परिषद्को सदस्य सङ्ख्या ४१३ बाट ७०१ पुर्‍याइएको छ। यसका साथै, ५१ सदस्यीय प्रदेश समितिलाई ६७ सदस्यीय र ३९ सदस्यीय राष्ट्रिय समितिलाई ४५ सदस्यीय बनाइएको छ।

बैठकले विधानको अनुसूची ४ को धारा ८ मा पनि संशोधन गर्दै पार्टीको लोगोमा रहेको ुअङ्कित मुठीु चिन्हलाई चुनाव चिन्हसँग एकरूपता दिने निर्णय गरेको छ। महासचिव राईले चुनाव चिन्हको मुठी र पार्टी लोगोको मुठीलाई समान बनाइने जानकारी दिए।

संशोधित विधानलाई सङ्घीय परिषद्को अध्यक्षको संयोजकत्वमा केन्द्रीय समितिको अध्यक्ष र कार्यदलको संयोजक सहित पाँच सदस्यीय प्रमाणीकरण समितिले २१ दिनभित्र प्रमाणित गर्ने बताइएको छ। अशोक राई नेतृत्वको जसपा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर २०८१ वैशाख २४ गते गठन भएको थियो।


सम्बन्धित समाचार