Logo

९ असार, काठमाण्डौ । मनसुनी वायुको प्रभावले पछिल्लो समय काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा रातभर भारी वर्षा भएको छ । काठमाण्डौ र वरपर अहिले पानी रोकिए पनि देशका अन्य केही स्थानमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा कपिलवस्तु, दाङ, नवलपरासी, पाल्पा, चितवन, गोरखा, उदयपुर, बारा, सिराहा र सप्तरी जिल्लामा भारी वर्षा मापन गरिएको छ । विशेषगरी कपिलवस्तुको सुरई खोलालगायत साना खोलाहरूमा आकस्मिक बाढीको खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमको प्रभाव काठमाण्डौ उपत्यकामा पनि देखिएको छ। मध्यरातको अविरल वर्षाले विष्णुमती, बागमती र धोवीखोलामा एक समय ठूलो बाढी आएको थियो। हाल यी नदीहरूमा पानीको सतह घटेको भए पनि नदी किनार र तटीय क्षेत्रमा यात्रा वा बसोबास गरिरहेकालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यस्तै, गोरखाको एग्रोमेट वर्षा मापन केन्द्रमा पनि उल्लेख्य मात्रामा वर्षा मापन गरिएकाले गोरखा क्षेत्र आसपास बहने साना नदी–नालामा पानीको सतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले पानी परिरहेका अन्य क्षेत्रका खोला–नदी आसपास नजान र सतर्कता अपनाउन आग्रह गरेको छ।

आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको र कतिपय स्थानमा भेलबाढीको जोखिम रहने भएकाले सतर्कता अनिवार्य रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले सार्वजनिक सवारी, यात्रु, किसान, नदी किनारमा बसोबास गर्नेहरू तथा स्थानीय प्रशासनलाई समेत आवश्यक सतर्कता र पूर्वतयारीमा जुट्न आग्रह गरेको छ।


सम्बन्धित समाचार