Logo

Massive fire breaks out on the set of Indian TV show 'Anupama', causing extensive damage

९ असार, भारत । मुम्बईको फिल्मसिटीस्थित चर्चित टेलिभिजन शो ‘अनुपमा’को सेटमा आज बिहान एक भयावह आगलागीको घटना भएको छ। बिहान करिब ६ बजे अचानक आगो लाग्दा सेटभरि धुवाँको मुस्लो फैलियो र अफरातफरीको अवस्था सिर्जना भयो। तर, समयमै अग्निनियन्त्रक टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएको छ। खुसीको कुरा के छ भने, यस घटनामा कुनै मानवीय क्षति भएको खबर आएको छैन।

प्राप्त जानकारी अनुसार, बिहान ७ बजेदेखि ‘अनुपमा’को सुटिङ सुरु हुने तालिका थियो। तर, सुटिङ सुरु हुनुअघि नै आगलागी भएको हो। त्यो समयमा सेटमा सुरक्षाकर्मी र केही प्राविधिक सदस्य मात्र थिए, कलाकारहरू उपस्थित थिएनन्। त्यसैले गम्भीर आगलागी हुँदासमेत कसैलाई चोटपटक नलाग्नु सुखद पक्ष हो।

आगो निभाइसकेपछि पनि कूलिङको काम भइरहेको छ। प्रारम्भिक विवरणअनुसार आगलागीका कारण पूरा सेट नष्ट भएको छ। लाखौं मूल्यको सामान आगोको लपेटामा परेर खरानी भएको छ। आगलागीको कारण हालसम्म पुष्टि भएको छैन। सेटबाट केही भिडियोहरू सार्वजनिक भएका छन्, जसमा देखिन्छ—आगोको लप्का निकै भयानक थिए र सिंगो सेट जलेको देखिन्छ।

यस घटनालाई लिएर ऑल इन्डियन सिने वर्कर्स एसोसिएशन (AICWA) ले सामाजिक सञ्जाल X (पहिलेको ट्विटर) मार्फत उच्चस्तरीय छानबिनको माग गरेको छ। एसोसिएशनले यस घटनालाई लापरवाहीको परिणति भन्दै प्रोड्युसर, प्रोडक्सन हाउस र ब्रडकास्टर्सलाई उत्तरदायी बनाउनुपर्ने धारणा राखेको छ।

‘अनुपमा’ टेलिभिजनको सबैभन्दा लोकप्रिय र धेरै मन पराइने शोहरूमध्ये एक हो। यस शोमा अभिनेत्री रुपाली गांगुली मुख्य भूमिकामा देखिन्छिन्, जसले यस कार्यक्रममार्फत आफ्नो करियरलाई नयाँ उचाइ दिएकी छन्। लामो समयदेखि टीआरपीको शीर्ष स्थानमा रहँदै आएको यो शोका सेटमा आगलागी भएको खबरले फ्यानहरूलाई पनि ठूलो झट्का दिएको छ।


सम्बन्धित समाचार