९ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा कुनै अनियमितता नभएको दाबी गरेका छन्।
मन्त्री खड्काले सोमबार प्रतिनिधिसभामा मन्त्रालयको बजेट र सांसदहरूले उठाएका जगदुल्ला हाइड्रोपावरको ठेक्कासम्बन्धी प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। प्रमुख प्रतिपक्षी दलका सांसदहरूले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा अनियमितता भएको भन्दै मन्त्री खड्कासँग जवाफ मागेका थिए। त्यसको जवाफमा मन्त्रीले मन्त्रालयको यसमा कुनै संलग्नता नभएको र जगदुल्ला हाइड्रोपावर कम्पनीले नै सबै प्रक्रिया पूरा गरी ठेक्का दिएको स्पष्ट पारे।
मन्त्री खड्काले कम्पनीको ठेक्कासम्बन्धी काम कम्पनीले नै गर्ने भएकाले मन्त्रालयले कुनै हस्तक्षेप नगरेको बताए। उनले विभिन्न सञ्चार माध्यममा आएका समाचार र उजुरीपछि आफूहरूले चासो राखेको तर, ४ वटा कम्पनीले इच्छा देखाएकोमा २ वटा पास भएको र तीमध्ये कम पैसामा काम गर्छु भन्नेले ठेक्का पाएको जानकारी दिए। यो प्रक्रियागत रूपमा भएको कम्पनीले बताएको उनको भनाइ छ।
उनले ठेक्का नपाउनेहरूले विभिन्न ठाउँमा उजुरी दिएको र ठेक्का रद्द हुँदा आफूहरूले पाउने आशमा यसो गरेको दाबी गरे। साथै, कम्पनीको ठेक्का अनलाइन प्रणालीमा हुने भएकाले मन्त्रालयले चलखेल गर्न सम्भवै नभएको उनले उल्लेख गरे। यद्यपि, जगदुल्ला हाइड्रोपावरको ठेक्का प्रक्रिया विवादित भएपछि संसद्को लेखा समितिले भने ‘तत्काल रोक्न’ निर्देशन जारी गरेको छ।















