Logo

९ असार,पटेर्वा सुगौली। पटेर्वा सुगौली गाउँपालिकाको १५ औं गाउँसभा आज (सोमबार) गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाकी उपप्रमुख ममता महतोले उक्त बजेट पेस गरेकी थिइन्।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभामा विगत वर्षको समीक्षाका साथै आगामी वर्षका लागि विभिन्न योजना र कार्यक्रमहरू सार्वजनिक गरिएका छन्। प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता लगायत वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, कर्मचारी, र सञ्चारकर्मीहरूको उपस्थिति थियो।

गाउँसभामा वडाध्यक्षहरू फरमान मियाँ, बिजय गैरे, माधव राउत थारु, र बाशु पञ्जियार थारुले शुभकामना मन्तव्य दिएका थिए। यस अवसरमा आधारभूत वा कक्षा आठको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, उत्कृष्ट माछा पालक किसान, उत्कृष्ट तरकारी उत्पादक किसान र उत्कृष्ट दुग्ध उत्पादक किसान (प्रत्येक विधामा एक÷एक जना) लाई सम्मान तथा पुरस्कृत गरिएको थियो।

गाउँपालिका अध्यक्ष दिनेश चौधरीले आगामी आर्थिक वर्षमा पालिकाद्वारा सञ्चालित आधारभूत अस्पतालमा सर्पदंशको उपचार र रेबिज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराउने घोषणा गरे। उनले तीन तहको सरकारी संरचनाका कारण बजेट विनियोजनमा आउने फरकपनले विकास कार्यमा गति लिन नसकेको बताए।

अध्यक्ष चौधरीले आगामी वर्षमा पर्साको एक मात्र प्रसिद्ध तथा पर्यटकीय स्थल भाथा धामका लागि मानव बस्तीदेखि पिच सडक बनाउने बहुवर्षीय योजना ल्याएको जानकारी दिए। यो योजनाले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नीति तथा कार्यक्रमका प्रमुख विशेषताहरूः
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न महत्त्वपूर्ण क्षेत्रमा जोड दिएको छ। मुख्य विशेषताहरू यस प्रकार छन्ः

उद्यम र स्वरोजगारः ’एक गाउँ एक उद्यम’ कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै स्थानीयस्तरमा उद्यमशीलता विकासमा जोड दिइनेछ।

शिक्षामा सुधारः ’खेल्दै सिक्दै’ कार्यक्रमलाई प्रोत्साहन गरिनेछ भने प्राविधिक शिक्षामा विशेष जोड दिइनेछ। सामुदायिक विद्यालयहरूमा विषयगत शिक्षक व्यवस्थापनका लागि आवश्यक पहल गरिनेछ।

स्वास्थ्य सेवाः आधारभूत अस्पताल पटेर्वा सुगौलीलाई सञ्चालन तथा व्यवस्थापनमा ल्याइनेछ। स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिँदै आधारभूत अस्पताललाई रिफरल सेन्टरका रूपमा कार्यान्वयन गरिनेछ।

कृषि विकासः कृषिको आधुनिकीकरणका लागि सिँचाइ सुविधा विस्तारमा ध्यान दिँइदै कृषि पोल, तार र ट्रान्सफर्मरको व्यवस्थापन गरिनेछ। कृषि उपजको बजारीकरणका लागि आधुनिक कृषि बजार र कोल्ड चेम्बरसहितको व्यवस्था गरिनेछ। ’अर्गानिक कृषि’ मा जोड दिँदै पशु बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।

राजस्व र सुशासनः आन्तरिक राजस्व बढाउन जोड दिइनेछ भने बेरुजु न्यूनीकरणमा विशेष पहल गरिनेछ।

पूर्वाधार विकासः गाउँपालिकाका मुख्य सडक सञ्जालहरूलाई कालोपत्रे गर्ने योजना अगाडि सारिएको छ।
यी नीति तथा कार्यक्रमहरूको सफल कार्यान्वयनबाट गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार