१० असार, पर्सागढी (पर्सा)। पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा २० दिने बाँसको हस्तकला तालिम सम्पन्न भएको छ। नगरपालिकाको सहयोगमा वीरगञ्ज कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरद्वारा आयोजित तालिमको समापन समारोह मंगलबार सम्पन्न भएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले तालिममा सिकेका सीपलाई निरन्तर अभ्यास गरी व्यावसायिक स्वरूप दिन सहभागी महिलाहरुलाई आग्रह गरे । उनले मोबाइलमा अनावश्यक समय बिताउनुको सट्टा सीपमूलक तालिममार्फत आत्मनिर्भर बन्न प्रेरणा लिनुपर्ने बताए।
“नगरपालिकाले महिलाहरूको क्षमता विकास र आत्मनिर्भरताको लागि निरन्तर सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ,” मेयर पाठकले भने, “हामी बाँसको हस्तकलामा आधारित उत्पादनलाई बजारसँग जोडेर आयआर्जनमा रूपान्तरण गर्नेछौं।”
यसैक्रममा उनले पर्सागढी नगरपालिकामा हस्तकला प्रदर्शनको लागि एउटा स्थायी प्रदर्शनी घर स्थापना गरिने जानकारी दिए। सो घरको भाडा नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरिने बताउँदै उनले महिलाहरूलाई सशक्त बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रम वीरगञ्ज कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक उमाशंकर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समापन समारोहमा पर्सागढी वडा नं. २ का वडा अध्यक्ष विरेन्द्र महतो थारू, सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठ, युवा समाजसेवी अमिताभ बच्चन दास, समाजसेवी कैलाश दास थारू, मेडपाकी कार्यक्रम संयोजक सुमित्रा बराल, प्रशिक्षक मुन्ना कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।
तालिममा सहभागी महिलाहरूले बाँसबाट विभिन्न प्रकारका सजावटी र प्रयोगात्मक सामग्रीहरू निर्माण गर्ने सीप सिकेका थिए । सहभागीहरूले आफूले सिकेका सीपलाई भविष्यमा रोजगारी र व्यवसायको अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
















