Logo

१० असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशभरका ५५ जिल्लामा बाढीको जोखिम रहेको जानकारी दिएको छ।

यीमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लासहित ३५ जिल्लामा मध्यम जोखिम औँल्याउँदै ‘पहेँलो रङ अर्थात् ‘यल्लो अलर्ट’ जारी गरेको छ। महाशाखाका अनुसार झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रौतहट, गोरखा, तनहुँ, कास्की, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बग्ने केही साना नदीहरूमा बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहनेछ।

त्यस्तै, मोरङ, सुनसरी, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बग्ने केही साना नदीहरूमा पनि बहाव बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रका तटीय बासिन्दालाई सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ।

आगामी तीन दिन (बिहीबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलस्तर सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो क्रममा रहनेछ। कोसी, नारायणी, कन्काई र यसका प्रमुख सहायक नदीहरूको जलस्तर भने सतर्कता तह आसपास रहने सम्भावना रहेकाले यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले विशेष सुझाव दिएको छ।

मनसुन सक्रिय भएसँगै देशभर बाढी र पहिरोको जोखिम बढिरहेकाले आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण हुन्छ।


सम्बन्धित समाचार