Logo

१० असार,विराटनगर। विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। महानगरको १६ औं नगर सभामा उपप्रमुख शिल्पा कार्कीले आज उक्त बजेट प्रस्तुत गरेकी हुन्।

बजेट प्रस्तुत गर्दै उपप्रमुख कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको वृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको जानकारी दिइन्। उनले यो बजेटले समृद्ध महानगर बनाउने अभियानमा सघाउ पु¥याउने दाबी समेत गरिन्। उपप्रमुख कार्कीले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

महानगरले प्रस्तुत गरेको बजेटमा राजस्वका विभिन्न स्रोतहरू उल्लेख गरिएको छ। जसअनुसार, समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दात १४ करोड, संघीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य संघ संस्थाबाट १६ लाख प्राप्त हुने अनुमान गरिएको छ।

खर्चतर्फ, महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख, ऋणको साँवा व्याज भुक्तानीका लागि ५ करोड, र चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि ८ करोड विनियोजन गरेको छ।

भौतिक पूर्वाधारतर्फ, समपूरक योजनाहरूका लागि ६ करोड २० लाख, बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरूका लागि ७० करोड विनियोजन गरिएको छ। यसैगरी, नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, र विद्युतीय कार्यक्रमका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

साथै, भवन संहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख, सडक पूर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार विनियोजन गरिएको छ। महानगर सडक बोर्डबाट सञ्चालन हुने योजनाहरूका लागि १ करोड ५० लाख, साथै नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लाख १ हजार गरी पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ।


सम्बन्धित समाचार