Logo

फाइल तस्वीर

१० असार, काठमाडौं । इरानको कतारमाथिको आक्रमणपछि सोमबार रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका खाडी मुलुकका यात्रुहरूले आज बिहानदेखि गन्तव्यतर्फ उड्न थालेका छन्।

कतारको आकाश (एयरस्पेस) खुल्ला भएसँगै रद्द भएका उडानहरू सुचारु भएका हुन्। सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका विमानहरूको उडान रद्द भएपछि सयौँ यात्रुहरू रातभर विमानस्थलमै अलपत्र परेका थिए। विशेषगरी वैदेशिक रोजगारीका लागि जान लागेका धेरै यात्रुहरू अलमलमा परेका थिए। आक्रमणको सूचना उडानका लागि यात्रु बोर्ड गराउने तयारी भइरहेकै बेला आएको थियो।

विमानस्थल कार्यालयका अनुसार, रद्द भएका उडानका यात्रुहरू आज बिहानैदेखि आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन्। यद्यपि, कतारबाट काठमाडौं आउने बिहान ८ बजेको एक विमान भने आज पनि रद्द भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रूपमै उडान हुने विश्वास व्यक्त गरे। नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीका अनुसार, सोमबार दोहा उडानका लागि २६९ यात्रु तयार थिए र उनीहरूलाई आज गन्तव्यतर्फ पठाउने सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ। खाडी मुलुकका नियमित उडानमा केही ढिलाइ हुन सक्ने भए पनि अब अवस्था सामान्य हुँदै जाने बताइएको छ।


सम्बन्धित समाचार