१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट आज सार्वजनिक नहुने भएको छ ।
आज असार १० गतेभित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यता भए पनि आज बजेट सार्वजनिक नहुने भएको हो। मेयर बालेन्द्र शाह, उपप्रमुख सुनिता विष्ट र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको बढ्दो द्वन्द्वका कारण बजेट तयारी र कार्यपालिका बैठक बस्न नसक्दा बजेट अन्योलमा परेको हो।
महानगरपालिका स्रोतका अनुसार, बजेटबारे छलफल गर्न कार्यपालिका बैठक बोलाउने गरी आन्तरिक तयारी भइरहेको छ। तर, आजका लागि भने कुनै बैठक बोलाइएको छैन। स्रोतले भन्यो, ‘आजका लागि बैठक बोलाइएको छैन। तर, कार्यपालिका र नगर सभा बोलाउनेगरी आन्तरिक छलफल भने भइरहेको छ।
गत पुस १४ गतेयता महानगरपालिकाको नगर सभा बैठक बस्न सकेको छैन, जसले गर्दा कार्यपालिका सदस्यहरूले लगातार बजेट माग गरिरहेका छन्। मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको यो गतिरोधले महानगरको वित्तीय योजनामा ढिलाइ हुनुका साथै विकास निर्माणका काममा पनि असर पर्ने देखिएको छ।















