१० असार,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले संसदीय दललाई समर्थन फिर्ता लिन निर्देशन दिइसकेको बताए।
यादवले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनप्रति पछुतो लागेको बताए। उनले सरकार जनताको पक्षमा नभई बिचौलियाका लागि बनेको आरोप लगाउँदै समर्थन कायम राख्नु संविधान, संघीयता र जनतासँग गद्दारी हुने बताए।
अध्यक्ष यादवले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए। “सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको छ,“ उनले भने। उनले वर्तमान सत्ता गठबन्धन पूर्णरुपमा असफल भइसकेको समेत उल्लेख गरे।
यादवले संविधान संशोधन गर्ने सरकारको कुनै चाहना नभएको र सरकार बनाउनका लागि मात्र राजनीतिक स्टन्ट गरेको टिप्पणी गरे। उनले राजनीतिक नेतृत्वको सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको जिकिर गरे।















