११ असार काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रियता रहेकाले मौसममा व्यापक परिवर्तन देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना बढी रहेको छ। विशेष गरी कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी, कर्णाली र सुदूरपश्चिमसहितका पहाडी क्षेत्रमा बादल लाग्ने र ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले निरन्तर वर्षाले पहिरो, बाढी तथा सडक अबरुद्धजस्ता जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।















