११ असार, काठमाडौं । नेपालकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्था ‘द हिडेन ट्रेजर’ले प्रतियोगिताका लागि आधिकारिक आवेदन प्रक्रिया सुरु भएको घोषणा गरेको हो ।
आवेदन दिने अन्तिम म्याद असार २६ गतेसम्म कायम गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूका लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्ष को बीचमा हुनुपर्ने मापदण्ड तोकिएको छ। साथै, सहभागी युवतीले नेपाली नागरिकता अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
यस वर्षको मिस नेपाल प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो गरी चार विधामा विजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।
अन्तिम अडिशन असार २८ गते काठमाडौंमा हुने तय गरिएको छ भने फिनाले कार्यक्रम आगामी भदौ १४ गते शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भव्य रूपमा आयोजना हुने छ ।
सौन्दर्य, प्रतिभा, आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई संयोजन गर्ने मिस नेपाल प्रतियोगिता नेपाली युवतीका लागि एक प्रतिष्ठित मञ्चको रूपमा स्थापित हुँदै आएको छ। आयोजक संस्थाका अनुसार यसपटकको संस्करण अझ व्यवस्थित, समावेशी र सशक्त बनाउन विशेष तयारी गरिएको छ ।















