११ असार, काठमाडौं । देशभर भाइरल ज्वरो, टाइफाइड, हैजा र झाडापखालाका बिरामीहरू बढ्न थालेका छन् । गर्मी र लगातारको वर्षाका कारण यस्ता बिरामीहरू बढ्न थालेका हुन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार, हाल आकस्मिक कक्षमै दैनिक सरदर सात जना सरुवा रोगका बिरामी उपचारका लागि आइपुग्ने गरेका छन् । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, गर्मी, वर्षा र अस्वच्छ खानपानका कारण भाइरल ज्वरो, हैजा तथा झाडापखालाका केसहरू बढेका हुन् ।
उपत्यकामा झाडापखालाका बिरामी सबैभन्दा धेरै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्यांक अनुसार, काठमाडौं उपत्यका र विभिन्न जिल्लामा झाडापखालाका बिरामीको संख्या उच्च छ। अस्ति सोमबारसम्म काठमाडौंमा १ सय ९७, ललितपुरमा ६०, भक्तपुरमा ५५, काभ्रेमा ३७ र पर्सामा ४९ जना बिरामी फेला परेका छन्।
त्यस्तै, हैजाका लक्षण देखिएका बिरामीहरू भक्तपुरमा ३७, दोलखामा ४, रुपन्देहीमा ३, भोजपुरमा २ र खोटाङमा २ जना रहेका छन्। रोग फैलिन नदिन सरोकारवाला निकायहरूले तदारुकता देखाउनुपर्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ।
व्यक्तिगत सावधानी नै मुख्य सुरक्षा उपाय
बर्खामा पानीजन्य रोगहरूको जोखिम अत्यधिक हुने भएकाले चिकित्सकहरूले व्यक्तिगत सरसफाइ र खानपानमा विशेष ध्यान दिन सुझाव दिएका छन् । सुमेरु अस्पतालका जनरल फिजिसियन डा. सरोज थापा भन्छन्, “साफ पानीको प्रयोग, उमालेको पानी पिउनु, बासी खाना नखानु, ताजा खाना मात्र सेवन गर्नु र हात धुने बानी विकास गर्नु अहिलेको मुख्य उपाय हो।”
उनले भीडभाडमा नजानु, स्वास्थ्य समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु र पालिकाले पनि स्वास्थ्यसम्बन्धी सचेतना र स्वच्छता प्रवर्द्धनमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
देशभर बढ्दो संक्रामक रोगको जोखिमलाई नियन्त्रण गर्न सबै नागरिक र स्थानीय निकायले सचेत र जिम्मेवार भूमिका निर्वाह गर्नु अपरिहार्य भएको विज्ञहरूको भनाइ छ। मनसुनको यिनै चुनौतीका बीच व्यक्तिगत सतर्कता नै सार्वजनिक स्वास्थ्यको सबल आधार बन्न सक्छ।

















