११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न आज थप ५० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ।
बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलताको चाप यथावत् रहेकाले केन्द्रीय बैंकले निरन्तर निक्षेप सङ्कलन गरिरहेको छ। राष्ट्र बैंकले ६३ दिने निक्षेप सङ्कलन उपकरण (Deposit Collection) मार्फत यो रकम झिक्न लागेको हो। यो प्रक्रिया अनलाइन बिडिङ सिस्टम मार्फत आज दिउँसो ३ बजे बोलकबोल भई आजै खरिद गरिनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। सङ्कलित निक्षेपको सावाँ र ब्याज भुक्तानी भदौ ११ गते हुनेछ। यसअघि पनि राष्ट्र बैंकले असार १ गते ४० अर्ब, असार ४ गते ९० अर्ब र असार ८ गते ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ। यसले बजारमा तरलताको सहजता कायम गर्न राष्ट्र बैंकको सक्रिय भूमिका रहेको देखाउँछ।















