Logo

१० असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढीसम्बन्धी सतर्कता सूचना जारी गरेको छ।

महाशाखाका अनुसार, काठमाडौँसहित ५६ जिल्ला र देशका प्रमुख नदीहरूमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख भएअनुसार, आजसहित आगामी तीन दिन (शुक्रबारसम्म) कर्णाली, महाकाली, पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीहरूको जलस्तर सतर्कता तहभन्दा तलै रहे पनि बढ्न सक्ने सम्भावना छ। यस्तै, कोसी, नारायणी, कन्काई र यिनका प्रमुख सहायक नदीहरूको जलस्तर सतर्कता तह आसपास रहने आकलन गरिएको छ। यी सबै नदीका तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यी प्रदेशमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना

महाशाखाले आज सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, तनहुँ, गुल्मी, कास्की, पर्वत, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, डोटी, डडेलधुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई बग्ने केही साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

त्यसैगरी, झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, नुवाकोट, मोरङ, सुनसरी, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, उदयपुर, चितवन, सल्यान, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुमपूर्व, अर्घाखाँची, प्युठान, सुर्खेत, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, डोटी, दैलेख, अछाम, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बग्ने केही साना नदीहरूको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेकाले ती नदीका तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन जरुरी रहेको महाशाखाले सूचित गरेको छ।


सम्बन्धित समाचार