११ असार,काठमाडौं । यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीहरूलाई अनावश्यक हैरानी दिएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरि नगरपालिका–६ का विकास तामाङ (२९), मकवानपुरका सुशील अधिकारी (२५), सर्लाहीका अनिश ठकुरी (२४), मकवानपुरकै छिरिङ लो (१९), धादिङका मनोज तामाङ (२७) र गोरखाका राजीव खत्री (२४) रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपील राज बोहराका अनुसार, यी व्यक्तिहरूले चन्द्रागिरि, गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीहरूलाई ’छिटो काम गरिदिने’ भन्दै अनावश्यक दुःख दिएका थिए।
पक्राउ परेकाहरूविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।















