Logo

११ असार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)ले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे आन्तरिक छलफल तीव्र पारेको छ।

यदि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा त्यसको असर राष्ट्रिय सभामा सरकारको बहुमतमा पर्न सक्ने देखिएको छ। जसपा नेपालका सांसद प्रकाश अधिकारीका अनुसार, पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको छ। यद्यपि, संसदीय दलको बैठक कहिले बस्ने भन्ने टुंगो लागिसकेको छैन।

५९ सदस्यीय राष्ट्रिय सभामा दलहरूको वर्तमान संख्या

नेकपा माओवादी केन्द्र–१७ सांसद

नेपाली कांग्रेस– १६ सांसद

नेकपा एमाले–१० सांसद

नेकपा एकीकृत समाजवादी– ८ सांसद

जनता समाजवादी पार्टी, नेपाल–३ सांसद

लोकतान्त्रिक समाजवादी पार्टी–१ सांसद

राष्ट्रिय जनमोर्चा– १ सांसद

मनोनित सांसद–३ जना

हालको सत्ता गठबन्धनको अवस्था

राष्ट्रिय सभामा हाल सरकारमा रहेका दलहरू नेपाली कांग्रेसका १६, नेकपा एमालेका १०, जनता समाजवादी पार्टी नेपालका ३, र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद जोड्दा कुल ३० जना पुग्छन्। राष्ट्रपतिबाट मनोनित सांसद अञ्जान शाक्य एमाले नजिक भएकाले सत्तापक्षको कूल संख्या ३१ पुग्छ।

समर्थन फिर्ता भएमा के हुन्छ?

यदि जसपा नेपालका ३ जना सांसदले समर्थन फिर्ता लिएमा राष्ट्रिय सभामा सत्ता गठबन्धनको संख्या २८ मा झर्नेछ। यसले सरकारलाई अल्पमतमा पार्न सक्छ, किनकि बहुमतका लागि २९ सांसदको आवश्यकता पर्छ।

प्रतिपक्षी दलहरूको अवस्था

राष्ट्रिय सभामा प्रतिपक्षमा रहेका दलहरू माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८, र राष्ट्रिय जनमोर्चाका १ सांसद जोड्दा कुल २६ हुन्छ। राष्ट्रपतिबाट मनोनित सांसद नारायण दाहाल माओवादी पृष्ठभूमिको भएकाले प्रतिपक्षको संख्या २७ पुग्छ। जसपा नेपालको निर्णयले राष्ट्रिय सभामा सरकारको समीकरणमा ठूलो प्रभाव पार्न सक्ने भएकाले उक्त पार्टीको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ।


सम्बन्धित समाचार