११ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी असार १३ गते नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। सो दिन गहवामाईको भव्य रथयात्रा निकालिने भएकाले पठनपाठन स्थगित गर्ने निर्णय गरिएको हो।
महानगरपालिकाको नगरकार्यपालिका कार्यालयले बुधबार एक सूचना जारी गर्दै यो जानकारी गराएको छ। महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा भनिएको छ, “असार १३ गते वीरगञ्जमा गहवामाईको भव्य रथयात्रा हुने भएकाले महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा उक्त दिन पठनपाठन स्थगित गरिएको व्यहोरा सबैमा जानकारी गराइन्छ।“
गत वर्ष पनि असार २३ गते गहवामाईको नवनिर्मित मन्दिरको १२ वर्ष पूरा भएको अवसरमा भव्य रथयात्रा निकालिएको थियो र त्यस दिन पनि वीरगञ्जका विद्यालयहरूमा बिदा दिइएको थियो।















