Logo

११ असार, काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान जारी छ। पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल बयानका लागि अदालत उपस्थित हुनुभएको हो। बयान सकिएलगत्तै सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीबीच थुनछेक बहस हुनेछ।

नेपालको पक्षमा वकिलको बाढी, अख्तियारको रणनीति फरक

माधव नेपालको बचाउका लागि करिब १०० जनाभन्दा बढी कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन्। बयान सुरु हुनुअघि नै नेपालले वकालतनामा फारममा हस्ताक्षर गरेर राखिदिएको र अहिले पनि वकालतनामा भर्न कानुन व्यवसातीहरू आइरहेको अधिवक्ता परिवर्तन राईले जानकारी दिनुभयो।

नेपालको पक्षमा वकालतनामा भर्ने वरिष्ठ अधिवक्ताहरूमा कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल, डा.चन्द्रकान्त ज्ञवाली लगायतका ख्यातिप्राप्त व्यक्तिहरू हुनुहुन्छ। यसबाहेक, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीले पनि वकालतनामा भरेका छन्।

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने यस मुद्दामा बहसका लागि सरकारी वकिलका साथै वरिष्ठ अधिवक्ता सुशील पन्तलाई समेत वकालतनामा गराएको छ। अख्तियारले भ्रष्टाचारका मुद्दाहरूमा बिरलै स्वतन्त्र कानुन व्यवसायीहरूलाई ुहायरु गर्ने गर्छ। यसअघि हिमाल मिडियाका अध्यक्ष कनकमणि दीक्षित पक्राउ परेको बेला पूर्वमहान्यायाधिवक्ता डा। युवराज संग्रौलालगायतलाई अख्तियारले हायर गरेको थियो। अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बश्यालसहितको टोलीले बहस गर्नेछ।

बहसमा सीमित सहभागिता

यसरी दुवै पक्षबाट ठूलो संख्यामा वकालतनामा भरिए पनि आजको थुनछेक बहसमा सबै कानुन व्यवसायीहरू सहभागी हुन पाउने छैनन्। सीमित समयमा संक्षिप्त बहस गर्नुपर्ने भएकाले दुवैतर्फबाट छानिएका केही निश्चित कानुन व्यवसायीहरूले मात्रै बहस गर्नेछन्। यस प्रकरणलाई नेपालको राजनीतिमा महत्त्वका साथ हेरिएको छ।


सम्बन्धित समाचार