Logo

११ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक आगामी असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने जानकारी दिनुभएको छ। बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले नागरिकताको विषयलाई अब धेरै अड्काएर नराख्ने बताउनुभयो।

नागरिकता विधेयक र प्राथमिकता

गृहमन्त्री लेखकले भन्नुभयो, ‘मैले पाएको जानकारीअनुसार १४ गते सम्मानित प्रतिनिधि सभामा पेस हुँदैछ। त्यसलाई १४ गते नै पास गर्छौं।ू उहाँले नागरिकतासम्बन्धी यो महत्त्वपूर्ण विषयलाई छिटोभन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। सम्भव भए यो महिनाभित्रै विधेयकलाई पारित गराउने लक्ष्य रहेको पनि उहाँले बताउनुभयो।

समितिले छोटो समयमा छलफल गरी नागरिकतासम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याएकाले अब प्रतिनिधि सभाबाट पनि चाँडै पारित हुने विश्वास व्यक्त गरिएको छ।

प्रहरी विधेयक पनि प्राथमिकतामा

नागरिकता विधेयकसँगै गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पनि सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले सम्भव भए असार महिनाभित्रै यो विधेयक पनि समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो। आजबाट समितिमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ।


सम्बन्धित समाचार