११ असार, काठमाडौं । चीनको दक्षिणपश्चिम क्षेत्रमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। लामो समयदेखिको अविरल वर्षाका कारण पहिरो जानुका साथै नदीहरूमा पानीको सतह बढेको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, दक्षिणपश्चिम गुइझोउ प्रान्तमा हिजो दिउँसोसम्म करिब ८० हजार ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ। रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदानसमेत तीन मिटर पानीमुनि डुबेको बताइएको छ। बाढीले छिमेकी गुआङ्सी क्षेत्रलाई पनि प्रभावित पारेको छ।
देशभर बाढीको कहर
मध्य चिनियाँ प्रान्त हुनानमा पनि गत हप्ता ठूलो वर्षाका कारण दसौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। यसअघि टाइफुन वुटिपका कारण आएको बाढीले दक्षिणी चीनमा झन्डै ७० हजार मानिस विस्थापित भएका थिए। चिनियाँ अधिकारीहरूले गत हप्ता ६ वटा क्षेत्रमा पहाडी बाढीका लागि वर्षको पहिलो ुरातो चेतावनीु जारी गरेका थिए।
जलवायु परिवर्तनको प्रभाव
वैज्ञानिकहरूले हरितगृह ग्यास उत्सर्जनले बढाएको जलवायु परिवर्तनका कारण यस्ता चरम मौसमी घटनाहरू बढेको बताएका छन्। गत वर्ष चीनको इतिहासमै सबैभन्दा तातो वर्ष थियो, र पछिल्ला चार वर्ष अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड भएका छन्।
चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक भए पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा पनि अग्रणी छ। चीनले सन् २०६० सम्ममा कार्बन डाइअक्साइड उत्सर्जनलाई शुद्ध शून्यमा झार्ने लक्ष्य लिएको छ।















