११ असार, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि सरुवा र भूमि आयोगको सदस्य बनाइदिने भन्दै घुस लिएको आरोप लागेको छ। मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर सी–०७८५५५ बाट परेको उजुरीमा मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको थमौतीका लागि एक व्यापारीसँग ५३ लाख रुपैयाँको घुस डिल गरेको अडियो प्रमाण पेस गरिएको छ।
प्राप्त जानकारी अनुसार, मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाइदिने भन्दै अर्को २५ लाख रुपैयाँको पनि घुस डिल गरेको अडियो अख्तियारमा बुझाइएको छ। अडियो रेकर्डमा मन्त्री गुप्ता आफैँले घुस लिँदै गरेको सुन्न सकिने बताइएको छ। साथै, मन्त्रीकी भतिजी मेलिना भनिने आफन्तमार्फत समेत घुस लेनदेन भएको अडियोमा उल्लेख छ। मेलिनाले व्यापारीलाई मन्त्री क्वार्टरमै गाडी नम्बरसहित २५ लाख रुपैयाँ ल्याउन निर्देशन दिएको अडियो सामाजिक संजाल मार्फत सार्वजनिक भएको छ ।
अख्तियारमा प्रमाणका रूपमा पेस गरिएको अडियोमा घुसबापत प्राप्त रकम दराजमा राखेको सुन्न सकिन्छ भने उनले पूर्वमन्त्री समेत रहेकी एक सांसदमार्फत पटकपटक घुस लिएको पनि देखिन्छ। उजुरीमा मन्त्री गुप्ताले लिएको पैसाको तस्बिर र नम्बरहरू समेत समावेश गरिएको पाइएको छ।
सार्वजनिक अडियोमा मन्त्री गुप्ताले हालका सचिव रविलाल पन्थले सरुवाको काममा असहयोग गरेको गुनासो समेत व्यक्त गरेका छन्। उनले ‘पशुपतिनाथको कसम खाएर भनिरहेको छु, मेरो आफ्नो छोरोको कसम खाएर भनिरहेको छु’ भन्दै सचिवसँगको विवादका कारण काम गर्न समस्या भएको बताएका छन्। यद्यपि, उनले व्यापारीलाई ‘तपाईंको समस्या मेरो समस्या हो’ भन्दै दुई जना मिलेर काम गर्ने आश्वासन दिएको अडियोमा सुन्न सकिन्छ।
स्रोतका अनुसार, मन्त्री गुप्ताको घुस लेनदेन प्रकरणबारे प्रधानमन्त्री केपी ओलीलाई समेत अडियोसहितका प्रमाण उपलब्ध गराइएको थियो। तर, प्रधानमन्त्री ओलीले यस विषयमा छानबिन नगरी गुपचुप राख्न सहयोग गरेको आरोप पनि लागेको छ।















