Logo

१२ असार, काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा बाढीका घटना घट्न थालेका छन्। ललितपुरको महाँकाल गाउँपालिकामा आएको बाढीले बगाएर एक सब–इन्जिनियरको मृत्यु भएको छ भने काठमाडौंको विष्णुमती खोलामा कार खसेर बगेकी एक युवतीको सकुशल उद्धार गरिएको छ।

ललितपुरमा बाढीले सब–इन्जिनियरको मृत्यु

ललितपुरको महाँकाल गाउँपालिका–६, ठूला दुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय सब(इन्जिनियर सविन दाहालको मृत्यु भएको हो। महाँकाल–४, कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने दाहाललाई बुधबार साँझ ठूला दुर्लुङस्थित भर्‍याङ खोल्सामा आएको बाढीले बगाएको थियो। खोजीका क्रममा गए राति १० बजेतिर उनको शव फेला परेको महाँकाल गाउँपालिका–६ का वडाध्यक्ष विनोद चौलागाईंले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।

विष्णुमती खोलाबाट युवतीको सकुशल उद्धार

काठमाडौंको टोखा नगरपालिका–८ स्थित बानियाँटार पुलनजिकै विष्णुमती खोलामा कारसहित खसेर बगेकी ३४ वर्षीया भावना ओलीको नेपाल प्रहरी र स्थानीय नागरिकको साहसिक प्रयासले सकुशल उद्धार गरिएको छ। ग्रान्डी अस्पतालनजिकै बा. प्र.०१–०३१ च ६१४१ नम्बरको कार खोलामा बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, उद्धारका क्रममा ३ जना प्रहरी र २ जना स्थानीय घाइते भएका छन्। उनीहरुको वसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचारपछि बिहीबार बिहान डिस्चार्ज गरिएको छ। दाङको तुलसीपुर घर भई हाल काठमाडौँको टोखा बस्ने भावना ओली चढेको कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई हाल काठमाडौँको धुम्बाराई बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए। सिंह भने कार खोलामा खस्नासाथ बाहिर निस्कन सफल भएका थिए।

बाढीले बगाएको कार बानियाँटार पुलमा पुगेर अड्किएपछि सोही मौकामा स्थानीय र प्रहरीले युवतीको उद्धार गरेका हुन्। राति १२ बजेतिर क्रेनको सहायताले कार खोलाबाट निकालिएको प्रहरीले जनाएको छ। उद्धारका लागि प्रहरी नायब उपरीक्षक निरन्जन थापाको कमान्डमा २० जना र विपद् व्यवस्थापन प्रहरी कार्यालयबाट २५ जना गरी ४५ जना प्रहरी खटिएका थिए।


सम्बन्धित समाचार
भर्खरै