Logo

१७ असार, काठमाडौं । अब काठमाडौं उपत्यकाभित्र विपद्‌मा परेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि निःशुल्क हेलिकप्टर परिचालन गरिने भएको छ।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृहमन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीको मुख्य बुँदा

वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र विपद्‌को समयमा खोज तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्नुपरेमा निःशुल्क रूपमा सेवा उपलब्ध गराउनेछ।

निजी हेलिकप्टर कम्पनीहरूले सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि तत्काल खोज तथा उद्धारका लागि परिचालन गरिनेछ।

संघले दैनिक रूपमा पालो तोकी निजी हेलिकप्टर सेवा प्रदायकलाई तोक्नेछ र त्यसको जानकारी गृहमन्त्रालय तथा प्राधिकरणलाई नियमित रूपमा अध्यावधिक गर्नेछ।

पालो तोकिएका हेलिकप्टर कम्पनीहरूले गृहमन्त्रालयको लिखित वा मौखिक अनुरोधमा तत्काल विपद्‌ग्रस्त क्षेत्रमा उडान गरी खोज तथा उद्धार गर्नुपर्नेछ।

गृहमन्त्री लेखकको भनाइ

समझदारीपछि बोल्दै गृहमन्त्री रमेश लेखकले यसलाई ‘असल कार्यको थालनी’ भएको बताए। हामी मनसुनको प्रारम्भिक चरणमा छौँ,’लेखकले भने, ‘मनसुनजन्य विपद्‌बाट ठूलो जनधनको क्षति भएको अवस्था छ। नागरिकको सुरक्षाका लागि हामी तयारी अवस्थामा रहेका छौँ।’ यस कदमले विपद् व्यवस्थापनमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।

 


सम्बन्धित समाचार