१९ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा बढ्दो अराजकता र भ्रष्टाचार नियन्त्रणका लागि अभिभावकको रूपमा राजसंस्था अपरिहार्य रहेको बताएका छन्।
पार्टीको नीति तथा अनुसन्धान विभागले काठमाडौँमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्दै थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।
थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरे। उनले मुलुक अभिभावकविहीन भएको र यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको आरोप लगाए। ‘अहिले कसैको डरभर नभएकाले राष्ट्रघाती कामसमेत गर्न पछि परेका छैनन्,’ थापाले भने । थापाले धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएकोमा गम्भीर चिन्ता व्यक्त गरे। यी सबै समस्याको समाधानका लागि राजसंस्थाको आवश्यकता महसुस गरिएको उनको तर्क छ। थापाले राजसंस्थालाई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणका लागि आस्था र विश्वाससहितको वैचारिक अवधारणा भएको बताए।
उक्त कार्यक्रममा पार्टीका अन्य नेताहरू डा.विष्णु भण्डारी, केशवराज श्रेष्ठ, अन्जना शाह रावल र जिबछ मिश्रले पनि आ–आफ्नो धारणा राखेका थिए।

















