१९ असार, काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारविरुद्ध पुनः सडक आन्दोलन सुरु गरेका छन्।
उनीहरूले आज विभिन्न मागसहित प्रदर्शन गरेका हुन्। व्यवसायीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हिरा तथा पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने माग राखेका छन्। साथै, उनीहरूले सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न र सुनचाँदी कारोबारका लागि स्पष्ट नीति तथा नियमावली निर्माण गर्न पनि जोड दिएका छन्। प्रदर्शनकारीहरूले यी मागहरू लेखिएका ब्यानरसहित सडकमा उत्रिएका थिए।
अर्थमन्त्रीको स्पष्टीकरण
यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार राष्ट्रिय सभाको बैठकमा सुनको कारोबारमा लगाइएको विलासिता करबारे स्पष्टीकरण दिएका थिए। उनले नेपाललाई ‘ग्रे–लिस्ट बाट बाहिर निकाल्न सुनको कारोबारमा पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता भएकाले विलासिता कर लगाइएको बताएका थिए।
मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव नगरेको स्पष्ट पार्दै, १० लाख रुपैयाँभन्दा माथिको सुन कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमामात्रै हटाइएको जानकारी दिए। यद्यपि, व्यवसायीहरूले भने यसलाई आफूहरूमाथिको थप आर्थिक भारका रूपमा व्याख्या गर्दै आएका छन्।















