Logo

२४ असार, काठमाडौं । मनसुन सक्रिय भएसँगै नेपालका विभिन्न क्षेत्रमा बाढीले जनजीवन प्रभावित पारेको छ ।

धादिङ र रसुवामा बाढीले ठूलो क्षति पुर्याएको छ, जसमध्ये एउटा घटनामा त्रिशूली नदीले जलिरहेको चिता बगाएको छ भने अर्को घटनामा रसुवामा कम्तीमा १८ जना बेपत्ता भएका छन् ।

त्रिशूलीमा चिता बगाएको घटना

धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा मंगलबार बिहान एउटा अनौठो घटना भएको छ। गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ का एक आफन्तको शवलाई बिहान ५ बजेदेखि चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो। बिहान करिब ९ः३० बजे त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको अध्यक्ष थपलियाले जानकारी दिए ।

उनका अनुसार, ‘शव लगभग जलिसकेको अवस्था थियो, चिता भने अझै बाँकी थियो। त्यही बेलामा बाढी आएर बगायो।’ यस घटनाको भिडियो वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। गाउँपालिका अध्यक्ष थपलियाले नदी किनार क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्पूर्ण पालिका क्षेत्रमा पूर्व सूचना दिइसकेको र आफूहरू सचेत रहेरै दाहसंस्कारमा सहभागी भएको बताए। ूचिता नै बाढीले बगायो, तर हामी सबै सुरक्षित छौं,ू उनले थपे।

रसुवामा बाढीले ठूलो क्षति, १८ बेपत्ता

सोही बाढीको प्रभाव त्रिशूली नदीमा मात्र नभई रसुवामा पनि देखिएको छ। चीनबाट आएको बाढीले रसुवामा कम्तीमा १८ जना बेपत्ता बनाएको छ। बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्। सोमबार राति आएको बाढीले रसुवागढी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति पुर्याएको छ। सुख्खा बन्दरगाहमा रहेका ७ वटा इभी गाडीसमेत बाढीले बगाएको छ। यसले गर्दा उक्त क्षेत्रमा ठूलो धनजनको क्षति भएको अनुमान गरिएको छ।

हाल मनसुन सक्रिय रहेकाले नदी किनार तथा तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।


सम्बन्धित समाचार