प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२३ असार,वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्वर्गीय पत्रकार सुदर्शनराज पाण्डेको स्मृतिमा ’सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ। २५ हजार रुपैयाँ राशिको यो पुरस्कार हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिनेछ।

महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले जानकारी दिएअनुसार, महासंघको कार्यसमिति बैठकले स्वर्गीय पाण्डेको पत्रकारितामा पु¥याएको योगदानको कदरस्वरूप यो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो।

स्वर्गीय पाण्डेको पहिलो वार्षिक स्मृतिमा आगामी भदौ २७ गते यो पुरस्कार वितरण गरिने महासंघका सचिव विजयकुमार महतोले बताए। पुरस्कारको कार्यविधि तयार पार्नका लागि अध्यक्ष खनालको संयोजकत्वमा उपाध्यक्ष निलिमा पौडेल र सचिव महतोलाई जिम्मेवारी दिइएको छ।

सचिव महतोले स्वर्गीय पाण्डेलाई जनपक्षीय पत्रकारिताको प्रेरणाको स्रोतका रूपमा स्मरण गरे। उनले भने, “वीरगञ्जलाई आधार बनाएर पत्रकारिता गर्नुभएका पाण्डे जनपक्षीय पत्रकारितामा प्रेरणाका स्रोत हुनुहुन्थ्यो। उत्थान साप्ताहिकका सम्पादक रहनुभएका पाण्डेको सालिन व्यक्तित्वजस्तै उहाँको पत्रकारिता इमान, निष्पक्षता, समाजमा पिछडिएको वर्गको आवाजको पर्यायको रुपमा स्थापित भएको छ।“

महासंघले स्वर्गीय पाण्डेको स्मृति दिवसमा प्रत्येक वर्ष एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गरी उहाँको पत्रकारिताप्रतिको योगदानलाई जीवन्त राख्ने जनाएको छ।


सम्बन्धित समाचार