२४ असार, काठमाडौं । मोरङमा अंश विवादले भयावह रूप लिँदा एक महिलाको हत्या भएको छ।
रतुवामाई नगरपालिका–६ मा ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा उनका देवर, ६९ वर्षीय टंकबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, असार २१ गते टीकामयाको शव आफ्नै बारीमा घाँस काट्न गएको अवस्थामा फेला परेको थियो। शव परीक्षण गर्दा उनको टाउकोको पछाडि, घुच्चुकमा चोट देखिएको थियो।
प्रारम्भिक अनुसन्धानबाट यो हत्या दाजुभाइबीचको अंश विवादको परिणाम भएको खुलेको प्रहरीले जनाएको छ। मृतक टीकामयाका पति गणेशबहादुर बस्नेत र उनका भाइ टंकबहादुर बस्नेतबीच लामो समयदेखि पुर्खौली सम्पत्तिको विवाद चल्दै आएको थियो।
टंकबहादुरले सम्पत्ति एकलौटी बनाउन खोजेपछि यो विवाद अदालतसम्म पुगेको थियो। प्रहरीको अनुसार अंश विवादको रिसइबी साँधेर बसेका टंकबहादुरले हँसियाको बिँडले प्रहार गरी भाउजू टीकामायाको हत्या गरेका हुन्। प्रहरीले टंकबहादुरलाई सोमबार दिउँसो उनको घरबाटै पक्राउ गरेको छ र उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको छ।

















