२४ असार, काठमाडौं । रसुवाको गोसाईंकुण्डमा बाढीका कारण जलविद्युत् आयोजनामा फसेका २३ जनाको हेलिकप्टरमार्फत सफल उद्धार गरिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीको संयुक्त टोलीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित हाइड्रोपावरमा फसेकाहरुलाई उद्धार कार्य सम्पन्न गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। बाढी नेपाल–चीन सीमाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको थियो, जसका कारण जलविद्युत् आयोजनामा कार्यरत कामदारहरू फसेका थिए। उद्धारका लागि सेनाको एनए–०३८ एमआई र इकुरेल हेलिकप्टर परिचालन गरिएको थियो।
यससँगै, रसुवागढी हाइड्रोपावरको ड्याम साइडबाट उद्धार गरिएकामा एक जना चिनियाँ, १५ जना पुरुष र दुई जना महिलासहित कुल ५० जनाको उद्धार भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
बाढीका कारण सम्पर्कविहीन भएकाहरूको खोजीका लागि धादिङस्थित नम्बर–६ बाहिनी अड्डाबाट सेनाको टोलीलाई गल्छी हुँदै त्रिशूलीतर्फ र रसुवास्थित श्रीनाथ गणको टोली स्याफ्रुबेशी इलाकातर्फ परिचालन गरिएको छ।

















