२३ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका अधिकांश वडामा चापाकल सुकेपछि खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ। यस विषम परिस्थितिमा पर्साकै सखुवा प्रसौनी गाउँपालिकाले मानवताको आधारमा दमकलमार्फत पानी ओसारेर वितरण गर्न सुरु गरेको छ।
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले गाउँपालिकाको दमकल (वारुण यन्त्र) को ट्याङ्कीमा पानी भरेर वीरगञ्ज महानगरका विभिन्न वडामा पानी वितरण गर्न थालेको जानकारी दिए। उनका अनुसार, पहिलो दिन मङ्गलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँमा एक ट्याङ्करबाट करिब ६ हजार लिटर पानी वितरण गरिएको छ।
अध्यक्ष यादवले सखुवा प्रसौनी गाउँपालिकामा रहेका डीप बोरिङबाट दमकलको ट्याङ्कीमा पानी भरेर वीरगञ्जमा ल्याइएको बताए। मङ्गलबारदेखि पानी वितरण सुरु गरिएको र बुधबारदेखि महानगरका अन्य वडाहरूमा पनि पानी वितरण गरिने उनले जनाए।
चापाकल सुकेर खानेपानीको सङ्कट परेका बेला मानवताको भावनाले आफूले यो काम थालेको यादवले बताए। उनले महानगरमा पानीको समस्या समाधान नहुन्जेलसम्म पानी वितरण कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबीच, वीरगञ्ज महानगरपालिकाले पनि आफ्ना विभिन्न वडाहरूमा ट्याङ्करमार्फत पानी वितरण कार्य सुरु गरेको छ।

















