२५ असार, काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा तीनवटा विधेयकमाथि छलफल र निर्णयको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले समिति सञ्चालन तथा कामकारबाही सम्बन्धी वार्षिक प्रतिवेदन (आव २०८०८१० पेस गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८२ संसद्मा पेस गर्न अनुमति माग्ने र त्यसपछि विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ को दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। उक्त विधेयकमाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने र पारित गरियोस् भन्ने प्रस्ताव पनि उनीद्वारा पेश हुनेछ।
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट प्राप्त संशोधनहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ।

















